Labels

Monday, 3 November 2014

महाभारतको अर्थ-सामाजिकी


- मृगेन्द्र थापा


मानव अस्तित्व रक्षाको संघर्ष जटिल बन्दै जाँदा पृथ्वीका विभिन्न भागमा भिन्न-भिन्न सभ्यता, धर्म, रीतिरिवाज, राजनीति, संस्कृति र आर्थिक पद्दति विकशित भए | स्वाभाविक रूपले पूर्वी र पश्चिमी सभ्यता-संस्कार र अर्थराजनीति त्यहाँ फरक-फरक तरिकाले विकशित आर्थिक प्रणाली र ज्ञान-विस्तार मा आधारित हुँदै गयो | पश्चिमी सभ्यताको विकाशको बारेमा धेरै अनुसन्धान र त्यसमार्फत  ज्ञानको विकाश र प्रयोग पनि भएको होला, तर पूर्वी सभ्यता, संस्कार र आर्थिक पद्दतिको विकाशक्रमको उतिसारो खोजविन र चर्चा भएको देखिन्न | समाजको वर्तमान चरित्र यसको इतिहासको गर्भमा पैदा हुने हुनाले, र समाजको भविष्य यसको वर्तमानको गर्भमा निहित हुने हुनाले इतिहासको वैज्ञानिक विश्लेषण, त्यसको जगमा वर्तमानको संश्लेषण र भविष्यको तयारी नै त्यस्तो अध्ययनको एउटा उपयुक्त मार्ग हुनसक्छ |




समाजमा विद्यमान शक्तिहरू र तिनीहरूबीच चल्ने संघर्षको परिणामस्वरूप इतिहासको  निर्माण भएको हुन्छ | निश्चय नै, संघर्षमा विजेता शक्तिको हातमा इतिहासको निर्माण, व्याख्या/अपव्याख्या र विस्तारको सामर्थ्य हुन्छ | विजेता शक्तिले आफ्नो शक्तिको वैधानिकता स्थापित गर्न आफूअनुकूलको वस्तु/सेवा  वा ज्ञान-सूचना उत्पादन, वितरण र पुनर्वितरणको संरचना निर्माण गर्छ |  वस्तु-उत्पादन र वितरणको संरचनाले समाजको जैविक,  आर्थिक र भौतिक नियन्त्रणमा भरथेग गर्छ भने ज्ञान-सूचना/संस्कृति उत्पादन र वितरणको संरचनाले समाजको मनोवैज्ञानिक र  सांस्कृतिक नियन्त्रणमा टेवा दिन्छ |


विजेताले शक्ति निरन्तरताको लागि आफ्नो पक्षमा मनोवैज्ञानिक माहोल निर्माण गर्न जित्नेहरूका गीत, तस्वीर, कथा, मिथक र साहित्यका अन्य रूपहरू निर्माण गरी  वास्तविक वा काल्पनिक सूचना र ज्ञानको प्रयोग जति नै आक्रामक रूपमा गरे पनि त्यो शैली, वस्तु वा संरचनाले आफ्नो भौतिक अस्तित्वको अवशेष लिएर हिंडेको हुन्छ र कालक्रममा नयाँ ज्ञानको आलोकमा त्यसको वास्तविकता उद्घाटन हुन सम्भव हुन्छ | हामीले हाम्रो सन्दर्भको लागि, सामान्यत: भारतीय उपमहाद्वीप र विशेषत: नेपालको लागि, यो क्षेत्रमा सांस्कृतिक/मनोवैज्ञानिक रूपले हजारौं वर्षदेखि प्रभावशाली रहेको महाभारत गीत (गीता) को आजसम्म नहेरिएको अर्थ-सामाजिक पाटो (The socio-economics of Mahabharata Geeta or Songs) बारे  हेर्ने कोशिश गर्नेछौ |


जसरी जीवविज्ञान(biology)मा जैविक विकाशक्रमको ऐतिहासिक प्रक्रिया बुझ्न जीवावशेष(biological fossils) प्रयोग गर्न सकिन्छ र वास्तविकता पत्ता लगाउन सकिन्छ, त्यसरी नै समाजविज्ञान(social science)मा सामाजिक विकाशक्रमको प्रक्रिया बुझ्न अर्थ-सामाजिक अवशेष(socio-economic fossils)को आवश्यकता हुन्छ | जीवावाशेषहरू भौतिक हुने हुनाले तिनीहरूको अस्तित्व जैविक दुनियाँमा खोज्न सकिन्छ, त्यस्तै अर्थ-सामाजिक अवशेषहरू सामाजिक हुने हुनाले तिनीहरूको अस्तित्व सामाजिक संरचनामा खोज्नुपर्ने हुन्छ | महाभारतकालमा प्रयोगमा आएका हातहतियार र यातायात, त्यो बेलाको उत्पादन पद्दति, परिवारको स्वरूप, सम्पत्तिको निर्माण, संरक्षण र वितरणको तरीका  आदि नै त्यस्ता अर्थ-सामाजिक अवशेष (socio-economic fossils)हुन सक्छन् जसले हामीलाई त्यो कालखण्डदेखि अहिलेसम्म चल्दै आएका मिथकबाट तथ्य छुट्टयाउन, विजेताहरूले छरेको भ्रमले भरिएको इतिहासको विनिर्माण(disassemble) गर्न  र त्यो ऐतिहासिक कालका तथ्यबाट सत्यको उद्घाटन गर्न र सत्यको आधारमा  इतिहासको पुनर्निर्माण(re-assemble)गर्न सहयोग पुर्याउन सक्छन् |  


हातहतियार र यातायात


भरतवंशी राजा सान्तनुको हस्तिनापुर राज्य विस्तार होस् वा  मथुरा र ब्रज बीचको कृष्ण र कंस नेतृत्वको लड़ाईं होस् या मथुरा र मगध बीचको कृष्ण र जरासन्ध नेतृत्वको लड़ाई, वा पाण्डव सेना नेतृत्वको हस्तिनापुर र अन्य राज्यवीचको लड़ाईं, वा पाण्डव र कौरव नेतृत्वको दर्जनौ राज्यबीचको महाभारत को युद्द, विभिन्न अपहरण काण्डहरू हुन् वा युद्दकला प्रदर्शनीहरू हुन्,   सबैतिर मुख्य हतियार को रूपमा धनुष-बाँण र मुख्य यातायातको रूपमा रथ हरू प्रयोग भएको देखिन्छ |  यसले त्यतिबेलाको समाज-सुरक्षा र राज्य-विस्तारको  मूल हतियार शिकारी युगको प्रयोग गरिएको देखाउँछ | धनुष-बाँण, रथ, डुंगा-विहार  आदिले काष्ठकला विकशित भएको जनाउ दिन्छन् | त्यसैगरी अन्य प्रमुख हतियारहरू  तरबार,ढाल र गदाले तत्कालीन समाज विस्तारै खानी तथा भूगर्भको ज्ञान हासिल गर्दै गएको अवस्था जनाउँछन् | रथमा  घोडा प्रयोग हुनुले जंगली पशुहरूलाइ तालिम दिएर घरपालुवा बनाउने चलन (पशुपालन) पनि प्रयोगमा आएको संकेत गर्छ | हतियार र यातायात प्रयोगको यो अवस्था  बर्बरिक युग र कृषि युग बीचको संक्रमणको अवस्था हो |


उत्पादन पद्दति


महाभारतकालमा भारतीय उपमहाद्वीप (indian subcontinent)  बर्बरिक समाजबाट सभ्यताको समाजमा संक्रमित  हुँदै गरेको अर्को कडीको रूपमा पशुपालन (animal domestication) देखिन्छ | यो संक्रमणकालमा आजभोलिका  लगभग सबै किसिमका प्राणीहरू घरपालुवा  बनाइएको भए पनि यो क्षेत्रमा  महाभारत युद्द वरिपरि यातायातको मुख्य साधनको रूपमा घोडा प्रयोग भएजस्तै उत्पादनको मुख्य साधनको रूपमा गाई प्रयोग भएको पाइन्छ | उत्पादनको प्रमुख साधन गाई भएको र अन्य प्रविधि र साधनहरू विकशित भईनसकेको स्थितिमा दुध र अन्य दुग्धजन्य  परिकारको उपलब्धताले पोषणको आपूर्ति बढ्नाले जनसंख्या बढिरहेको, जसले गर्दा बाँच्नको लागि प्रतिष्पर्धा/संघर्ष पनि बढिरहेको, राज्यहरू बिस्तारै निर्माण र विस्तारको अभियान चलिरहेको, बढी भन्दा बढी चरनक्षेत्र र अन्य  स्रोतसाधनको लागि समाजहरूबीच युद्द चलिरहेको  समाजमा बाँच्ने प्रमुख आधार गाई हुनु स्वाभाविक थियो | त्यसै कारणले गाई नै श्री-सम्पत्तिको प्रतीक पनि थियो | महाभारतकालका निम्न घटनाहरूले यसको पुष्टि गर्छन्:


१. ब्रजका गाईपालक (ग्वाला) हरू र राजधानी मथुरा बीचको अन्तरविरोधको प्रमुख कारण राजा कंसले ग्रामीण किसानहरुसंग दूध, दही, मखनको रूपमा अन्यायपूर्ण कर असुल्नु थियो | ब्रजबासी कृष्णले दूधमा पहिलो अधिकार बाच्छा-बाच्छीको हुने, बाँकी रहेकोमा स्थानीय बालक बृद्दहरूको हुने, किसानले घरायसी प्रयोग गर्ने र त्यसपछि बाँकी रहेको मात्र करको रूपमा राज्यलाई बुझाउने मुद्दामा किसानहरूलाई एकत्रित गरे र कंसको सेना/सत्ता ढाल्न ग्रामीण सेना संगठित गरे |


२. पाण्डव र कौरवलाई धनुर्विद्या सिकाईसकेपछि गुरू द्रोणाचार्यले दिएको आदेश यस्तो थियो- “पाण्डवहरू, पान्चाल राजा (द्रौपदीका पिता)लाई लडाईंमा जित्नू र उनको आधा गाई हरू मकहाँ लिएर आउनू |” उत्पादन एकत्रित गर्न राज्यको अवधारणा बन्दै थियो, र गाईको भागबन्डा गर्नु राज्यको भागबन्डा सरह हुन्थ्यो |


सम्पत्ति विकाशको यो अवस्थामा  गाई धनको प्रतीक (लक्ष्मी) को रूपमा पूज्य बनाउनैपर्थ्यो | मासु खाएर वा अन्य कुनै प्रकारले गाईको संख्या घटाउनु भनेको समग्र उत्पादकत्व घटाउनु थियो, जसको सीधा प्रभाव  तत्कालीन मानव समाजको लागि मृत्युदर तीव्र पार्नु हुन्थ्यो | गौ-हत्या परोक्षत: मानव हत्या सरह हुन्थ्यो र आपराधिक ठहरिनुपर्थ्यो |  त्यसैले गाईको मासु खान बर्जित गर्नैपर्थ्यो, र गरियो | उत्पादनका लागि संघर्षको त्यो चरणका  अवशेषहरू अझै पनि भारतीय उपमहाद्वीप क्षेत्रका समाजमा  विद्यमान छन् |


उत्पादक शक्तिको विकाश


केही ग्रन्थहरूमा महाभारतको युद्द द्वापरयुग बाट कलियुग को संक्रमणको प्रतीक भनेर उल्लेख गरिने गरिए पनि आर्थिक-सामाजिक कोणबाट हेर्दा द्वापरयुग भनेको के हो, कलियुग भनेको कस्तो अर्थतन्त्र हो र युद्दले कस कस बीचको लडाईंको प्रतिनिधित्व गर्यो भन्ने मा अस्पष्ट भएकोले हामीले त्यो संक्रमणकाल कस्तो थियो भनेर हेर्न फेरि आर्थिक-सामाजिक  अवशेषकै  सहायता लिएर सत्यको नजिक पुग्नु  मनासिव हुन्छ |


यहाँसम्म आइपुग्दा, कृषि-उत्पादनका दुइवटा भाग मध्ये पशुपालनको चरण राम्रै संग बिकशित भएको देखियो त्यो कालमा | तर अनाज उत्पादन धेरै बिकसित भएको देखिदैन | महाभारतमा  अनाजको चर्चा त्यति धेरै पनि छैन | तर पुरानो समाजमै अनाज-उत्पादन प्रविधिको सामान्य परीक्षण भने हुन थालेको देखिन्छ : जस्तो ब्रजमा कृष्णले पानी पार्ने इन्द्रले  होइन, गाईको गोबर, गोबर्द्धन पर्वत र त्यसले हुर्केका बोटबिरुवाको योगदानले हो भनेर संघर्ष प्रकृतितर्फ मोडे र इन्द्रपूजाको अवैज्ञानिक ‘मिथ’ तोडे | पानी पार्न पूजा हुने चलनले अन्नबालीको खेती शुरू हुन खोजेको दर्शाउंछ | दानवीर भनिएका कर्णले एकजना साधुलाई भाँडोभरि अन्न दान गरेको देखिन्छ, तर साधुहरू भिक्षाटनमा हिंडेको वा खेतीबाली भित्र्याईएको अन्य दृश्य देखिदैन | उत्पादनको प्रमुख स्रोत गाईपालन नै देखिन्छ |


पशुपालनबाट कृषि-अन्वेषण खेतीबालीतिर लागेको स्पष्ट देखिएको चाहिं कौरवहरूले हस्तिनापुर विभाजन गरेर खोलापारिको बन्जर भूमि खण्डप्रस्थ दिएपछि हो | हस्तिनापुर राज्य कौरवहरूले राज्यस्रोत (खासगरी  उत्पादनका साधन) कब्जा गर्नको लागि टुक्राएको देखिन्छ | उत्पादन गर्ने साधनहरू बाट बन्चित पाण्डवहरू सामु ज्ञानको आधारमा नयाँ उत्पादनको साधन विकाश गर्नुको विकल्प थिएन | रथ, डुंगा, धनु-वाण आदि काठका सामग्रीमा राम्रै कुशलता भएपनि त्यो समयमा धातुको आधुनिक औजारहरू बनेको थिएन | तर धातुको काट्ने हतियार र ढाल भने बनेका थिए | काष्ठकलाको निपुणता र धातुको सामान्य ज्ञान प्रयोग गरेर हलोको आविष्कार हुनको लागि पृष्ठभूमि तयार भएको थियो | ठीक त्यही समयमा बहरहरू, जो उत्पादनको सहायक साधन मात्र थिए र सजिलै उपलब्ध हुन सक्थे तिनको प्रयोग, जुवाको आविष्कार र नारा (संभवत काठका रेशाहरूको डोरी बाट बनाइएको) बन्न परिस्थिति परिपक्व भएको थियो | यो समयसम्म आइपुग्दा, ग्वालाहरूले वर्षौसम्म गाई चराउन आउने जाने गर्दा गाई वा चराचुरुंगीले  थरी-थरीका बिउ खाने, र तिनको विस्टाबाट निश्चित मौसममा थुप्रै उस्तै बिरुवाहरू बनेको देखे र सिके | यी सबै थरी ज्ञान एकै लक्ष्यमा केन्द्रित गरिंदा उत्पादनको नयाँ साधनको आविष्कार सम्भव भयो | कृषि उत्पादनको यो जटिल साधनको विकाश(खेतबारी, कुलेसा, नारा, जुवा, बहर, हलो, बिउ, भण्डारणको उचित योग) युगान्तकारी थियो |  उत्पादन प्रविधिको दृष्टिले एउटा युगको अन्त्य र नयाँ युगको आरम्भ क्षितिजमा आइपुगेको थियो |


परिवारको स्वरूप


बर्बरिक समाजमा सामूहिकं विवाहको प्रचलन थियो | एक जनजाति वा समुदायका सम्पूर्ण सदस्य जन्मजात अर्को समुदायका सम्पूर्ण सदस्यका श्रीमान/श्रीमती हुने गर्दथे | अहिले अनौठो लागे पनि, एक पतिका बहु-पत्नी र एक पत्नीका अनेक पति हुनु स्वाभाविक विकाशक्रम थियो | त्यस्तै, परिवार संचालनको स्वरूप मातृसत्तात्मक  थियो | सभ्यताको शुरूवातसँगै समाजमा एकल विवाहको प्रचलन प्रारम्भ भयो  र अहिले वैधानिक रुपमा एकल पति/पत्नीको प्रचलन छ | यद्धपि आधुनिक समाजमा विवाह नामक संस्था, बहुपत्नी-प्रथा र त्यसको उपज नगरबधू-संस्था  (institution of prostitution) पनि वैध/अवैध रूपमा कायम छन् | लगभग सबैतिर परिवार संचालनको स्वरूप, वंशजको  पहिचान, पैत्रिक सम्पति वितरण इत्यादि  पितृसत्तामा नै आधारित छन्  |


महाभारतकालीन समाजमा अवशेष हेर्ने हो भने उत्पादन पद्दतिको संक्रमण संगसंगै परिवारको स्वरूप पनि संक्रमणमा रहेको देखिन्छ | एकातिर, भरतवंशी राजा सान्तनुका सन्तान नभएपनि चित्रान्गद र विचित्रवीरहरूलाइ भरतवंशी मान्यता दिईनु, व्यासका सन्तान भएपनि धृतराष्ट्र, पान्डू र विदुर भरतवंशी कहलाइनु,  कुन्ती तथा माद्रीका बहुपतिहरूबाट पाण्डवहरूको जन्म हुनु, परिवारमा मुख्य भूमिका कुन्ती/माद्रीकै हुनु, द्रौपदीका अनेक पति हुनु आदि मातृसत्ता कायम रहेका संकेत थिए | अर्कोतिर,  मुख्यत: खण्डप्रस्थमा कृषि-उत्पादन शुरू भएपछि पाण्डवहरू शक्तिशाली बन्दै जानु, भीम र अर्जुनका  छुट्टै अर्की पत्नीहरू हुनु, द्वारका शहर निर्माण पछि कृष्णका अनेक पत्नीहरू हुनुले सम्पत्तिको नयाँ स्वरूप संगै परिवारको स्वरूप पनि क्रमश: मातृसत्तात्मक बाट पितृसत्तात्मक बन्दै गएको पुष्टि गर्छन् |


यसरी हेर्दा महाभारतको समय पशुपालन युगबाट अनाज उत्पादन युग को संक्रमणमा रहेको स्पष्ट देखिन्छ | उत्पादक शक्ति मा भएको विकाश संगै सुरक्षा, सम्पत्ति र परिवारको स्वरूप, पहिचानको अवस्था इत्यादिमा आएको परिवर्तनले बर्बर समाज बाट सभ्यताको समाजमा युगीन संक्रमण भएको, समाजमा विद्यमान शक्तिहरू  वीच निरन्तर साना-ठूला संघर्ष चलेको र संघर्षमा बिजयी शक्तिले आफू अनुकूल इतिहासको निर्माण गरेको महत्वपूर्ण तथ्यहरू खुल्न आउँछ | तत्कालीन समाजको विकाशप्रक्रियाका अवशेषहरू कुनै उस्तै रूपमा र कुनै परिवर्तित रूपमा हालको समाजमा पनि कायम रहेकाले  थप अध्ययनको लागि ती खुला नै छन् |


हाम्रो संक्रमणकाल


हजारौ वर्ष पछि, अहिले दक्षिण एशियाको र खासगरी नेपालको उत्पादन पद्दति महत्वपूर्ण संक्रमणमा छ | गुजारा कृषि-उत्पादन, टुक्रे उत्पादन पद्दतिको अनिवार्य परिणामको रुपमा रहेको पछौटे सामाजिक संस्कार, रोजगारीको चर्को अभाव, उधोगधन्दाको नगन्य उपस्थिति, उर्जा-उत्पादनको अभावले ल्याएको विकराल लोड-शेडिंग, विकाशका न्युनतम पूर्वाधारको अभाव, विप्रेषण (remittance) ले धानेको अर्थतन्त्र र त्यसले निम्त्याएको अति-उपभोक्तावाद र परिवार विघटनका समस्या : खासगरी  अनुत्पादक खर्च र बढ्दै गएको सम्बन्ध-विच्छेद (divorce rate), बढ्दो व्यापार घाटा लगायतका अनगिन्ती समस्याले  उत्पादन पद्दतिको नयाँ र विशिष्ट स्वरूप-संरचनाको माग गर्दछ | त्यस्तो पद्दतिको विकाशको लागि एकल होइन संगठित पहलको आवश्यकता झन् झन् टड्कारो बन्दै गएको छ | अब युग परिवर्तनको तयारीमा नजुटी नहुने भएको छ |


(यो आलेख शुरूरुवात मात्रै भएकोले यसका थुप्रै सीमा हुनसक्छन्, सुझाव तथा प्रतिक्रियाको लागि : himalayangenomeproject@gmail.com )